बार्हौ विश्व माटो दिवस डिसेम्बर ५ "Healthy soils for healthy cities" (स्वास्थ्य माटो स्वास्थ्य गाउँशहर) भन्ने नाराका साथ यस वर्ष माटो दिवस मनाइरहेको सन्दर्भमा माटोको महत्व झल्काउने सानो सन्दर्भ यहाँ प्रस्तुत गरिएको छ।
माटो पानी, हावा, खनिज, प्राङ्गारिक पदार्थ, साना र सूक्ष्म जीवहरु मिलेर बनेको हुन्छ। सामान्यतया माटोमा ४५ प्रतिशत खनिज, २०-३० प्रतिशत पानी, २०-३० प्रतिशत हावा र ५ प्रतिशत प्राङ्गारिक पदार्थ (सूक्ष्म जीवहरु तथा जीवांस) हुन्छ । हावा र पानी माटोको छिद्रहरूमा मिलेर बसेका हुन्छन् । माटोमा हावा र पानीको मात्रा लगभग बराबर भएको सन्तुलित मानिन्छ । माटोमा प्राङ्गारिक पदार्थको मात्रा सबैभन्दा कम हुने भए तापनि यसले माटोको स्वस्थ, बनोट बनोट र उर्वराशक्तिलाई निकै प्रभाव पारेको हुन्छ । यसका अलावा माटोमा असंख्य शुक्ष्म जीवाणु रहेका हुन्छन् । जसले माटोमा रहेका खाद्य तत्वलाई बोटबिरुवाले सोस्नलायक बनाउन मद्दत गर्दछन्।
माटो केवल खनिजहरूको ठोस मिश्रण नभएर विभिन्न जीवहरू; गड्यौला, कीरा, फट्याङ्ग्रा, मुसा देखि सूक्ष्मजीवहरू जस्ता ब्याक्टेरिया, फङ्गस लगायतका जीव, जैविक पदार्थ, खनिज तत्व, पानी र हावाको सम्मिश्रण हो जसले माटोमा जीवन संचालन गरिरहेका हुन्छन्। माटोमा रहेका यी जीवहरुले एकअर्कासँग निरन्तर प्रतिक्रिया गर्दै जटिल र परिवर्तनशील पोषक तत्त्वहरूको चक्रमा महत्वपूर्ण भूमिका खेल्छन् । यसको फलस्वरुप बिरुवाको वृद्धि र जीवनका लागि आवश्यक वातावरण प्रदान गर्दछन्। माटोमा पानी र हावाको उपस्थितिले माटो जिवित बनाउन सहयोग गर्छ। पोषण चक्र सञ्चालन गर्ने यी सूक्ष्मजीवहरूको सक्रियताले माटोलाई जीवित तत्व भएको प्रमाणित गर्छ । यसले माटोको उर्वराशक्ति जिवन्त राख्न मद्दत गर्छ । माटो बिना कुनै पनि प्रकारको जीवन सम्भव छैन र यो जीवनको आधार हो। । यसले बिरुवा र सबै जीवको जीवन चक्रलाई पनि समृद्ध बनाउँछ।
माटोको उर्वराशक्ति भनेको माटोमा रहेको त्यो अन्तरनिहित शक्ति हो, जसले माटोमा रहेको खाद्यतत्व सोसेर लिन, बिरुवा हुर्कन, बढन, फूल खेल्न र फल लाग्न पनि मद्दत गर्दछ । माटोको उर्वराशक्ति उपलब्ध जलवायु, प्रयोग हुने प्राङ्गारिक तथा रासायनिक पदार्थ र लगाइएको बाली अनुसार प्रभावित हुने गर्दछ।
कुनै पनि बिरुवाको वृद्धि र विकासको लागि रासायनिक तत्वहरू आवश्यक हुन्छन्, जसमा १८ वटा तत्वहरू विशेषगरी महत्वपूर्ण छन् । यी आवश्यक तत्वहरू बिरुवाले दुई विभिन्न स्रोत- माटो र हावाबाट प्राप्त गर्छ। प्रायः माटोमा रहेका सूक्ष्मजीवहरूले माटोमा रहेको खाद्य तत्व बोटबिरुवाले सोस्न लायक बनाएर आवश्यक पोषकतत्त्व उपलब्ध गराउन गर्छन् ।
कृषि क्षेत्रको देशको आर्थिक मेरुदण्ड हो जो माटो पानीमा आधारित छ। हालको परिवर्तित कृषि प्रणालीमा लगातार खेती गर्ने, सन्तुलित मात्रामा प्राङ्गारिक पदार्थको प्रयोग नगर्ने, असन्तुलित रुपमा कृषि रसायन र गर्हौ मसिनरी प्रयोगका कारण माटोमा रहेका शुक्ष्म जीवाणुमा कमि भएको र माटोको भौतिक तथा रासायनिक गुण प्रभावित हुने गर्दछ।
प्राङ्गारिक मलको कम प्रयोग, रासायनिक मलको जथाभावि प्रयोग, अम्लीय माटोको सुधार नहुनु, वन जङ्गल फाँडानी हुनु, बालीको उचित व्यवस्थापन नहुनु, कृषि वनको अवधारण नअपनाउनु, भू-क्षयको नियन्त्रण नगर्नु जस्ता कारणले हाम्रो देशको माटोको उर्वराशक्ति ह्रास भईरहेको छ । माटोको दिगो व्यवस्थापन नगरी निरन्तर खेती र रसायन प्रयोग गरेमा माटोको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरण भइ भावी सन्ततिको खाद्य सुरक्षा प्रभावित हुने देखिन्छ । तसर्थ, माटो प्रकृतिले दिएको सर्वोत्तम उपहार र जीवनको आधार हो, यसको समुचित उपयोग गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्दछ । माटोको गुणस्तर र उर्वराशक्ति बचाइराख्न हामी सबै कृषक, अनुसन्धानकर्ता, नीति निर्माता, युवा, अन्य सरोकारवाला सचेत र जागरुक भइ माटोको दिगो व्यवस्थापनमा अग्रसर हुन जरुरी छ।